धनुषा, फागुन ११ :

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताएका छन् ।

नेपाली कांग्रेस धनुषाले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्र सबैलाई समेटेर विधानअनुसार नै महाधिवेशन हुने स्पष्ट पारेका हुन् ।

उनले आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस बलियो भएर पनि कमजोर जस्तो देखिएको जिकिर गरे । आन्तरिक व्यवस्थापन गर्न नसक्दा कमजोर भइरहेको भन्दै उनले पार्टीभित्रका समस्या आफूहरूले नै समाधान गर्ने बताए ।

आफ्ना गुट, उपगुटलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्तिले समस्या खडा गरेको भन्दै मनमुटाव समयमै व्यवस्थापन गरी सबै एकताबद्ध भएर अघि बढ्न उनको आग्रह थियो ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीसमेत रहेका सिंहले कांग्रेसकै नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए ।

आमनागरिकलाई अधिकारसम्पन्न बनाउने जनचाहनाअनुसार नै राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो ।