
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आदेशपत्रमा हस्ताक्षर गर्दै प्रविधि र महत्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अङ्कुश लगाउन आग्रह गरेका छन् ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो व्यापार तनाव र रणनीतिक प्रतिस्पर्धाका बेला यो कदम चालिएको हो ।
ह्वाइट हाउसले भनेको छ, “यसको उद्देश्य विदेशी लगानीलाई बढावा दिनु हो र अमेरिकी राष्ट्रिय सुरक्षा हितलाई ‘विशेष गरी चीनजस्ता मुलुकबाट उत्पन्न खतराहरूबाट’ रक्षा गर्नु हो ।”
ह्वाइट हाउसका अनुसार विशेष गरी, पत्रमा चीनलाई ‘आफ्नो सैन्य, गुप्तचर र अन्य सुरक्षा उपकरणहरूको विकास र आधुनिकीकरण गर्न संयुक्त राज्य अमेरिकाको पूँजीको बढ्दो दोहन’ बारे लक्षित गरिएको छ ।
यसले अमेरिकामा विदेशी लगानी सम्बन्धी समिति (सीएफआईयूएस) लाई प्रविधि, महत्वपूर्ण पूर्वाधार, स्वास्थ्य सेवा र ऊर्जाजस्ता प्रमुख अमेरिकी क्षेत्रहरूमा चिनियाँ लगानीलाई प्रतिबन्धित गर्न प्रयोग गर्न आह्वान गरेको छ ।
सीएफआईयूएस संयुक्त राज्य अमेरिकामा विदेशी लगानीको राष्ट्रिय सुरक्षा प्रभावको तौल गर्ने एक समिति हो ।
ट्रम्पले यस महिनाको सुरुमा चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाएपछि पछिल्लो यो आदेश आएको हो । बेइजिङले उक्त आरोपको विरोधगर्दै यसको खण्डन गरेको छ ।
गत बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका थिए । -एएफपी
