काठमाडौं, फागुन १२ :

प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका २, नागढुंगाबाट लागुऔषध गाँजा १ किलोसहित धादिङ थाक्रे गाउँपालिका ३ का २७ वर्षीय रमेश लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ख ५२३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपलिका १, पथलैया चोकबाट २१ किलो गाँजासहित मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने ४० वर्षीय अर्जुन रूम्बासमेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको बा.४ख ७५१७ नम्बरको बसमा यात्रारत उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सिराहाको मिर्चैया नगरपालिका ६, कटारी चोक बस्ने ३० वर्षीय विशाल श्रेष्ठलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।