बाँके, फागुन १३ :

बाँकेको कोहलपुरमा प्रहरी कल्याण कोष पेट्रोल पम्प सञ्चालनमा आएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे । साथै उनले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपणसमेत गरे ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आमनागरिकमा सेवा पुर्‍याउँदै आएको चर्चा गरे । उनले नेपाल प्रहरी शान्ति सुरक्षाको सन्दर्भमा आमजनता केन्द्रित सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनका रूपमा रहेको बताए । उनले आमनागरिकमा निष्पक्ष सेवा प्रवाह र प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न समुदायसँग सहकार्य गरी योजनाबद्ध ढंगबाट प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट एवं बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले शुभकामना दिएका थिए । नेपाल प्रहरी कल्याण कोषको कुल ६ करोड २७ लाख ६४ हजार ७ सय रुपैयाँमा यो पेट्रोल पम्प तथा पूर्वाधारको निर्माण भएको हो ।