काठमाडौं, फागुन १३ :

महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त-दुरुस्त बनाएको हो ।

दर्शनार्थी एवं भक्तजनका सवारी साधनहरुको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्येश्वरीपारि करिडोर सडकमा मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्यांकरहरु पार्किङ हुनेछन् । त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारीसाधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारीसाधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारीसाधन आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्नेछ । त्यसका लागि करिडोर सडक र भित्री सडकहरुमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।

सदाझैं चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ । तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा मात्र डाइभर्सनको नीति अवलम्बन गरी वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालनको व्यवस्था मिलाएको छ ।

तीनकुनेबाट सिनामंगलतर्फ,बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालवाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरीपारि पार्किङ स्थान तोकिएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई सवारीसाधन चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ ।

सम्भावित सवारीसाधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ । तर आफ्नो सवारीसाधनलाई सुरक्षित स्थानमा राखिदिनसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहज रूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा कमान्ड सेन्टर राखी ८९० ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ । आवश्यकताअनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरीसमेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

प्रवक्ता राउतले महाशिवरात्रिको अवधिभर पाशुपत क्षेत्रमा आउने दर्शनार्थी एवं भक्तजनलाई निर्वाध रुपमा दर्शन गर्ने वातावरण सुनिश्चित गर्न र आवागमनलाई प्रभावकारी व्यवस्थापन गर्न हामी पूर्ण रुपमा समर्पित भई खटिने प्रतिबद्धता जनाएका छन् ।

शिवरात्रिकै अवसरमा अन्य शिवालयमा हुन सक्ने भिडलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरीहरु खटाइने समेत प्रवक्ता राउतले जानकारी दिए ।