
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नकारात्मक प्रचारप्रसारले विकास निर्माण सम्भव नहुने भन्दै सकारात्मक सोचाइ राख्नुपर्ने बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा निर्मित सिटी हल उद्घाटन गर्दै उनले भएका विकास कार्यलाई आत्मसात् गर्नुपर्ने धारणा राखे । उपप्रधानमन्त्री सिंहले भएका विकास निर्माणका काम संरचनाको सदुपयोग गर्नुपर्नेमा जोड दिए । ‘विकास निमार्णको क्रममा बनिसकेको भवन तथा विकासको सही सदुपयोग गर्नुपर्छ,’ उनले भने, ‘नकारात्मक प्रचारप्रसारले विकास सम्भव हुन सक्दैन । सकारात्मक सोचाइ र भएका विकासलाई पनि आत्मसात् गर्नु जरुरी छ ।’
सिटी हलले नेपालगन्जमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने पनि उनले विश्वास व्यक्त गरे । नेपालगन्ज सिटी हल निमार्णपछि यहाँ हुने विभिन्न गतिविधि व्यवस्थित गर्न सुविधा हुने भन्दै उनले यसको सही सदुपयोग गर्न आग्रह गरे । हलको सिटिङ क्यापासिटी ७९५ जना रहेको छ । सिटी हलको समुद्घाटनसँगै हल सञ्चालनका लागि उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
उपप्रधानमन्त्री सिंहले बोल्ने अधिकार सँगसँगै आफ्नो काम कर्तव्य लाई पनि भुल्नु नहुने भन्दै सधैं नकारात्मकतामा लाग्नेभन्दा सकारात्मक आलोचना हुनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार राजनीतिक स्थिरताको जगमा समृद्धिको बाटोमा अघि बढिरहेको भन्दै त्यसमा हरेकको साथको आवश्यकता रहेकामा जोड दिए ।
यो पनि…
‘अधिकार त्यसै प्राप्त भएको छैन, विगतमा गरेको संघर्ष र त्याग नबिर्सौं’