
नेपाल राष्ट्र बैंकले पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता दिएर चालु आवको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा प्रस्तुत गरेको छ ।
मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनुपर्ने आवश्यकता औंल्याए पनि आर्थिक क्रियाकलाप विस्तारलाई समेत उच्च प्राथमिकतामा राख्नुपर्ने भएका कारण आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत् राखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाका रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ ।
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ । लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आबद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ । व्यक्तिगत सवारीसाधन र सबै प्रकारका विद्युतीय सवारीसाधनको ऋण मूल्य अनुपात Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिनेछ ।
असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ । नन डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिनेछ ।
राष्ट्र बैंकले लचिलो कार्यदिशालाई निरन्तरता दिइएको मौद्रिक नीतिबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको क्रममा प्रत्यक्ष/परोक्ष रुपमा सहयोग पुर्याउने मौद्रिक नीति सुझाव समितिलगायत सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै मौद्रिक नीतिको कार्यान्वयनमा सदाझैं सबैको सहयोग रहने राष्ट्र बैंकले विश्वास लिएको छ ।