
आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा- आराधना गरी मनाइन्छ ।
व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्थाका लागि बुधबार बिहान २ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरिएको छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि गएरातिदेखि नै पशुपतिमा भक्तजनको भीड लागेको छ ।
बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भक्तजनको सहजताका लागि यसपटक दुई सेकेन्डमा दश जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए ।
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड-रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको छ ।
आज पशुपति पुग्ने भक्तजनको सुरक्षाका लागि एम्बुलेन्स सेवा, स्वयंसेवक, स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका छन् ।
वैदिक सनातन हिन्दु धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा- आराधना गर्छन् ।
शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् ।
आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ- मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
हरेक वर्ष झै यस पटक पनि पशुपतिनाथमा आएका साधुसन्तहरुका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले बजेट छुट्टाउँदै आएको छ ।
मन्दिर दर्शनमा आउने भक्तजनलाई फागुन कृष्ण एकादशी अर्थात् सोमबारदेखि नै गुठी संस्थानले खाने, बस्ने र धुनी जगाउने व्यवस्थासमेत गरेको छ ।
यो पनि…
जय शम्भु : पशुपतिमा साधु-सन्त (हेरौं २४ तस्बिर)
महाशिवरात्रिको पूर्वसन्ध्या : तस्बिरमा पशुपतिको चहलपहल
महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गरे पशुपतिनाथको दर्शन