काठमाडौं, फागुन १६ :

सेयर बजारमा उच्छल देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो । मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई एक प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था गरेको थियो । यही व्यवस्थाले गर्दा आज (बिहीबार) नेप्सेमा उच्छल आएको हो ।

नेप्से बिहीबार ४९ दशमलव १५ अंकले बढेर २८ सय १५ दशमलव शून्य चार अंकमा पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटि इन्डेक्स पनि नौ दशमलव ७५ अंकले बढेर चार सय ६९ दशमलव ८२ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सयवटा कम्पनीको एक लाख १२ हजार ३२ पटकको कारोबारमा दुई करोड ६१ लाख ९९ हजार सात सय ८० कित्ता सेयर खरिद बिक्री भए । जसअनुसार कुल कारोबार रकम ११ अर्ब ३९ करोड २४ लाख एक हजार आठ सय १५ रुपैयाँ पुग्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४६ अंकले बढेर १४ सय ३१ दशमलव ३४ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक ८६ दशमलव ८३ अंकले बढेर पाँच हजार सात सय ३१ दशमलव शून्य सात अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक सात दशमलव ८७ अंकले बढेर २८ सय दुई दशमलव २७ अंकमा पुगेको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक ६७ दशमलव ६९ अंकले बढेर ३८ सय १८ दशमलव ९३ अंकमा पुगेको छ । यसैगरी जीवन बिमा समूहको सूचक एक सय १२ दशमलव ६६ अंकले बढेर १३ हजार नौ सय ५७ दशमलव शून्य एक अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक ९० दशमलव ७२ अंकले बढेर १२ हजार नौ सय ५४ दशमलव १८ अंकमा पुगेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ७५ दशमलव ७८, एक दशमलव ४२, दुई सय ११ दशमलव ५७, शून्य दशमलव १७, २४ दशमलव ८१ र ५१ दशमलव शून्य सात अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीको पहिलो स्थानमा हिमालयन री-इन्स्योरेन्स कम्पनी परेको छ ।