काठमाडौं, फागुन १६ :

खानेपानीमन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देशभरीका शाखालाई नाफामै ल्याएर छोडिने बताएका छन् ।

संस्थानलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान (खेल परिवर्तक योजना) ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नेपाल खानेपानी संस्थानको ३६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संस्थानले लाखौँ नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै यसको महत्त्वलाई  रहेको जनाए । उनले संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको बताए ।

मन्त्री यादवले संस्थानलाई घाटाबाट मुक्त गर्न सबै कर्मचारीले गम्भीर भएर सोच्नुपर्ने र योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘संस्थान कसको कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संस्थान रहे मात्र हामी सबैलाई फाइदा हुन्छ । घाटामा गएर नै संस्थान बन्द भयो भने दोष कसलाई दिने ?’

मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहोर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए । उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, ‘खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ ।’

नाफामा रहेका अन्य शाखाबाट सबैले पाठ सिक्नुपर्ने उनको भनाइ छ । संस्थानमा महाप्रबन्धकको दश महिनादेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै उनले निकै अप्ठ्यारो परिस्थितिका बाबजुद आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रबन्धक नियुक्त गर्न सफल भएको बताए ।

साथै उनले कर्मचारीको हकहितका सहयोग गर्न संस्थानको नयाँ विनियमावली चाँडै कार्यान्वयनमा ल्याइने आश्वासन दिए । उनले भने, ‘संस्थानका कर्मचारीको हकहितका लागि नयाँ विनियमावली आउँदै छ । आएको दिन तपाईंहरू दिपावली मनाउनुहुनेछ ।’ हाल २२ वटा शाखा कार्यालयमार्फत १५ लाख जनसंख्यालाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गरिरहेको जानकारी दिँदै मन्त्री यादवले सेवा थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

सरकारको नीतिअनुरूप ‘एक घर-एक धारा’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको जोड छ । संस्थानको आगामी त्रिवर्षीय योजनाअनुसार ६० हजार नयाँ घरधुरीलाई धारा वितरण गरी ७ करोड ४० लाख लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । यस योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उनले बताए ।

काठमाडौँ उपत्यकाबाहिरका सहरी क्षेत्रमा सहज, सुरक्षित र पर्याप्त खानेपानी वितरणको जिम्मेवारी बोकेको संस्थानले अब स्थानीय तहहरूसँग अझ बलियो सहकार्य गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘संस्थानलाई अझ सबल बनाउने मेरो व्यक्तिगत तथा मन्त्रालयको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग रहनेछ ।’ संस्थानले खानेपानी सेवामा पारदर्शिता, पहुँच र गुणस्तर कायम राख्दै नागरिकको विश्वास जित्नुपर्ने मन्त्री यादवको भनाइ छ । उनले दिगो विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न संस्थानको योगदान अत्यन्तै महत्त्वपूर्ण हुने स्पष्ट पारे ।

यसैगरी उनले झुम्सा र कोलपाटन खानेपानीको समस्या चाँडै समाधान हुने विश्वास दिलाए । उनले भने, ‘झुम्सा र कोलपाटन खानेपानीको समस्या बुझ्न म आफैं त्यहाँ पुगेको छु । ढुक्क हुनुस् त्यहाँको समस्या चाँडै समाधान हुन्छ ।’

समारोहको सफलताको शुभकामना व्यक्त गर्दै मन्त्री यादवले सम्पूर्ण संस्थान परिवारलाई अझ सबल, सक्षम र नागरिकमुखी सेवाप्रदायक संस्थाका रूपमा अघि बढ्न प्रेरणा दिएका छन् । कार्यक्रममा मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले संस्थानले अबका दिनमा आफूलाई नाफामुखी बनाउनेमा आफू विश्वस्त रहेको बताइन् । उनले भनिन्, ‘संस्थानलाई आवश्यक सहयोग गर्न मन्त्रालय सदैव तयार छ । अबका दिनमा संस्थानले आफ्नो क्षमताको विकास गर्दै आफूलाई नमुना संस्थानका रुपमा प्रस्तुत गर्ने छ मैले विश्वास लिएको छु ।’

संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा अध्यक्ष गुणाकरण भुसालले आगामी दिनहरुमा नेपाल खानेपानी संस्थानलाई थप विकसित र प्रभावकारी बनाइ निरन्तर सेवा प्रदायिक एवं नाफामुखी बनाइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, निमित्त महाप्रबन्धक त्रिदेव श्रेष्ठलगायतका कर्मचारी सहभागी थिए ।