काठमाडौँ, भदौ ५ :

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो । 

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिनुभयो । 

मौसम खराब रहेकाले भिजिविलिटी कमजोर हुदाँ पोखरा र भरतपुर गन्तव्यमा उडान हुन नसकेको उहाँले बताउनुभयो । अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको उहाँको भनाई ।
     
पोखरा र भरतपुरमा बिहान १०: ३० बजेसम्म कुनै पनि उडान नभएको र मौसममा सुधार आउनासाथ उडान सुरु गरिने बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।

 हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गए रातीदेखि नै देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।