
धितोपत्र बजारप्रति यो साता लगानीकर्ता निकै उत्साहित देखिएका छन् । कार्यकालको सुरुवातदेखि नै सेयरबजारले नपत्याएको भनिएका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको नजिक आउनु र राष्ट्र बैंकले यसै साता गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले असल कर्जामा विगतमा कायम रहेको १.१० प्रतिशतको प्रोभिजनलाई घटाएर एक प्रतिशत सीमित राख्नु आदि-इत्यादि सबैको प्रभाव सेयर बजारमा देखिएको हो । यसले गर्दा यो साता नेप्से परिसूचक मात्र नबढी कारोबार रकम पनि गत साताको तुलनामा बढेको छ ।
नियमित कारोबारका लागि सातामा चार कार्य दिन मात्र खुला रहेको नेप्से सुरुवाती दिनदेखि नै बढेको थियो । नेप्सेको यो बढाइ अन्तिम कारोबार दिनसम्म पनि कायम रहेको थियो । जसले गर्दा नेप्से यो साता २,८१५.०४ अंकमा कायम रहन पुगेको छ । (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सातामा चार सय ६९ दशमलव ८२ अंकमा कायम रहन पुगेको छ ।
३२८ कम्पनीको चार लाख २१ हजार सात सय ६९ पटकको कारोबारमा यो साता आठ करोड ६३ लाख ८२ हजार एक सय सात कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ४३ अर्ब ९३ करोड ५५ लाख ९० हजार चार सय १५ रुपैयाँ कायम भएको छ ।
यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो । गत साता ३८ अर्ब ५८ करोड ४६ लाख ५६ हजार नौ सय १३ रुपैयाँको मात्र सेयर कारोबार भएको थियो । ३१४ कम्पनीको तीन लाख ८४ हजार नौ सय ५१ पटकको कारोबारमा सात करोड २९ लाख ३२ हजार नौ सय १६ कित्ता सेयर खरिद-बिक्री उक्त परिमाणमा रकम कारोबार भएको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्य दिन मात्र खुला रहेको थियो । सोमध्ये चौथो कार्यदिन सार्वजनिक बिदा परेका कारण बन्द रहेको नेप्से बाँकी दिनहरुमा भने लगातार उकालो लागेको थियो । जसमध्ये पहिलो दिन आइतबार नेप्से ११ दशमलव ६६ अंकले बढेर २,७५५.४० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६६ अंकले बढेर चार सय ५८ दशमलव ६४ अंकमा पुगेको थियो ।
दोस्रो दिन पनि नेप्से तीन दशमलव ३५ अंकले बढेर २७ सय ५८ दशमलव ७५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६० अंकले बढेर चार सय ५९ दशमलव २५ अंकमा पुगेको थियो ।
यसैगरी तेस्रो दिन पनि नेप्से सात दशमलव १३ अंकले बढेर २७ सय ६५ दशमलव ८८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८१ अंकले बढेर चार सय ६० दशमलव ६ अंकमा पुगेको थियो । पाँचौं अर्थात् साताको अन्तिम कारोबार दिन पनि नेप्से ४९ दशमलव १५ अंकले बढेर २८ सय १५ दशमलव शून्य चार अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ७५ अंकले बढेर चार सय ६९ दशमलव ८२ अंकमा पुगेको थियो ।
यो साता हिमालयन री-इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदिको सबैभन्दा बढी रकम कारोबार भएकामा नेपाल पुनर्बिमा कम्पनी र हिमालयन री-इन्स्योरेन्स कम्पनीको बढी संख्यामा सेयर किनबेच भएको छ ।
बजार पुँजीकरणको आधारमा यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।