
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा चर्चामा रहेको ‘बलिदान’ को रिलिज मिति औपचारिक रूपमा घोषणा भएको छ । निर्देशक सन्तोष सेन नेतृत्वको निर्माण टिमले चलचित्रलाई २०८२ सालको फूलपाती (असोज १३) मा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सेनले प्रमुख कलाकार समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै यो चलचित्र नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।
सार्वजनिक गरिएको एक पोस्टरमा पृष्ठभूमिमा कालिमातालाई राखिएको छ भने समीरले हातमा त्रिशूलसहितको ठुलो हतियार बोकेका छन्, जहाँ उनी आफ्नो लक्ष्य पूरा गरेपछिको भावमा देखिएका छन् । निर्देशक सेनका अनुसार यो पोस्टरमा समीरले दानव प्रवृत्तिका मानिसहरूको बलि चढाएपछिको दृश्य हो ।
दोस्रो पोस्टरमा समीर यत्रतत्र छरिएका लासहरूको बीचमा छन्- जहाँ उनले एक व्यक्तिको खुट्टा समाएर लतारिरहेका छन् । यो पोस्टरले समीर नरसंहारमा रहेको संकेत गर्छ ।
निर्देशक सेनका अनुसार ‘बलिदान’ निर्माणको निर्णय लिनु मात्र सहज थिएन, यसको तयारी, छायांकन र सम्पादन प्रक्रियामा टिमले अपार मिहिनेत गर्नुपरेको छ । उनले भने, ‘जब मैले यो चलचित्र निर्माण गर्ने सोच बनाएँ, तब यति ठुलो बलिदान दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको महसुस भएको छ ।’
चलचित्रको कथा लेखकहरूसँगको निरन्तर संवादपछि तयार पारिएको सेनले जनाए । उनका अनुसार यो कुनै एउटा समयको कथा मात्र नभई, हिजो, आज र भोलिसम्मको सन्देश बोकेको छ । शोषितवर्गको आवाज बुलन्द पार्न कुनै सम्झौता नगरिएको उनले बताएका छन् । कलाकार छनोटदेखि प्रविधि र प्रविधिजन्य पक्ष, निर्माण व्यवस्थापन, गीत-संगीत र सम्पादनसम्म उच्च स्तरको बनाउन अहोरात्र परिश्रम गरिएको उनले उल्लेख गरे ।
सेनले चलचित्रको प्रि-प्रोडक्सन प्रक्रिया अब पूर्ण भएको र पोस्ट-प्रोडक्सनका लागि दक्षिण भारतीय चलचित्र उद्योगको प्रविधि र सीप उपयोग गरिरहेको बताए ।
चलचित्रको ‘फर्स्ट ल्यान्डिङ’ प्री-टिजर एक वर्षअघि सार्वजनिक गरिएको थियो, जसमा २०८१ सालको फूलपातीलाई रिलिज मिति तोकिएको थियो । तर, अझ उत्कृष्ट प्रस्तुति दिन एक वर्षको थप समय लिइएको सेनले प्रस्ट्याए । उनले भने, ‘हामीले निर्माणको कुनै पक्षमा सम्झौता गर्न चाहेनौं, त्यसैले थप समय लिनु उपयुक्त ठान्यौँ ।’
चलचित्रमा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ । विशेषगरी चलचित्रको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो । जसले निकै चर्चा बटुलेको थियो । चलचित्रमा कलाकारको सशक्त टिम छ । चलचित्रमा ‘१२ गाउँ’ बाट चर्चामा आएका अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् ।
साथै, अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारको अभिनय छ । चलचित्रको संगीत आर्टमान्डु टिमको सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाईं, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानसहितको समूहले चलचित्रका गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य सांगीतिक पक्षमा काम गरिरहेको छ ।
चलचित्र ‘आसुसेन फिल्म्स् प्रालि’ को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताका रूपमा संलग्न छन् ।
टिमले चाँडै नयाँ भिडियो कोसेली लिएर आउने जानकारी गराएको छ । निर्देशक सेनले दर्शकको माया र साथविना यो यात्रा अपूर्ण रहने उल्लेख गर्दै भने, ‘हामी तपाईंहरूको गाउँ, टोल, बस्ती, घर-जहाँ जहाँ पुग्नुपर्छ, तयार छौँ । जय बलिदान !’