
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले सहकारीप्रति नकारात्मक धारणा रहेको भन्दै आफ्नो गतिविधिबाट सहकारीहरुले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले तीनखम्बे अर्थनीतिअन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नकारात्मक भाव रहेको बताए । उनले सहकारीको सिद्धान्त र मर्मविपरीत जाँदा समस्या देखिएको पनि बताए ।
‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीनखम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुँदा अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘सहकारीको सिद्धान्त र मर्मविपरीत गएको कारणले गर्दा धेरैले जीवनमै डिस्टर्भेन्स हुने गरी, आफैंलाई दबाब हुने अवस्था भोगिरहनुपरेको छ ।’
फरक प्रसंगमा उनले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्त्व बुझाउन वर्तमान सरकार बनेको दाबी गरे । राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी-कमजोरी पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको उनको भनाइ छ ।
‘जनताले सरकारको आयुको त ठेगान छैन । सरकार बनेको केही महिनामै अर्को बन्छ । सरकारको सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रा लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्त्व बुझाउन वर्तमान सरकार बनेको हो । कमी-कमजोरी पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गइरहेको छ,’ सिंहले भने । सरकारले जीवनयापन गर्न सहज वातावरण सिर्जना हुनुपर्छ भन्ने हरेक नेपालीको चाहना रहेको भन्दै त्यसलाई पूरा गर्न लागिरहेको उनको भनाइ छ । सिंहले अधिकारसँगै कर्तव्यप्रति पनि सचेत हुनुपर्नेमा पनि जोड दिए ।