काठमाडौं, फागुन १९ :

गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादको समाधानका लागि सरकार पूर्णरूपमा समर्पित रहेको बताएका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा उनले केबलकार निर्माणको क्रममा उत्पन्न समस्याहरु समाधान गर्न गृह मन्त्रालयले वार्ता टोली गठन गरी आन्दोलनकारी पक्षसँग लगातार संवाद गर्नको लागि पहल गरेको जानकारी दिए।

गृहमन्त्री लेखकका अनुसार, पाथीभरा मन्दिर क्षेत्रका स्थानीय, सांस्कृतिक र धार्मिक समस्याहरुको समाधान गर्न सरकारले गम्भीर ध्यान दिएको छ। गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरिएको वार्ता टोलीले आन्दोलनरत पक्षसँग सहजिकरण गरिराखेको र समस्या समाधानका लागि निरन्तर प्रयास गरिएको उनले बताए।

पछिल्लो समयमा वार्तामा केही अवरोध आए पनि, सरकारले फागुन १२ गते पुनः वार्ताका लागि आह्वान गरिसकेको जानकारी गराए। उनले पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाइ शान्ति र सुरक्षा सुनिश्चित गरिरहेको दाबी गरे। 

सरकारले पाथीभरा केबलकारको विवादलाई शान्तिपूर्ण तरिकामा समाधान गर्ने विश्वास लिएको छ। दुवै पक्ष वार्ताका लागि तयार भए पनि पुनः वार्ता हुन सकेको छैन । तत्काल निर्माणको काम रोकेर वार्ताका लागि सरकारी पक्ष एक कदम अघि बढे पनि आन्दोलनरत पक्षले भने वार्ता टोलीमाथि नै प्रश्न खडा गरेको छ ।