
भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ ९, लेखर्कका बासिन्दा व्यावसायिक मौरीपालनमा जुटेका छन् । वडाको पहलमा मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि उनीहरु मौरीपालनमा जुटेका हुन् ।
लेखर्क मौरीपालनका लागि राम्रो क्षेत्र मानिन्छ । यहाँका अधिकांश किसानले पराम्परागत रुपमा मौरीपालन गरिरहेका छन् । उनीहरुलाई आधुनिक मौरीपालनसम्बन्धी ज्ञान, सीप प्रदान गरिएपछि उत्साहित भएका छन् ।
किसानहरुलाई साना उद्योग कार्यालयले वडाको पहलमा २१ दिने तालिम दिएको हो । वडाको सहयोगबाट मौरी पालनमा व्यावसायिक बन्न सजिलो भएको किसानहरु बताउँछन् ।
यहाँका अधिकांश किसानले परम्परागत रुपमा मौरीपालन गरिरहेकाले उनीहरुलाई आधुनिक मौरीपालनमा जोड्न वडाले पहल गरेको हो ।
लेखर्कलाई मौरीपालनको स्रोत केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गको भनाइ छ ।
मौरीपालक किसानलाई लक्षित गरेर सञ्चालन गरिएको तालिममा मौरीको आधुनिक घार निर्माण, माटेघार निर्माण, कृत्रिम रानी बनाउने, एक घारबाट अर्को घारमा मौरी स्थानान्तरण गर्ने, चिसो र झरीको मौसममा मौरीलाई कसरी बचाउनेलगायत प्राविधिक ज्ञान प्रदान गरिएको हो ।
दोस्रो चरणमा सञ्चालन भएको तालिममा २० किसानको सहभागिता थियो । टेम्केमैयुङ ९, लेखर्कका ४६९ घरपरिवारमध्ये २५० बढी किसानले मौरीपालन गरिरहेको वडाले जनाएको छ ।
हेर्नुहोस् भिडियो रिपोर्ट :