
काठमाडौँ, फागुन २० :
राष्ट्रिय समाचार समिति (रासस) का पूर्ववरिष्ठ सम्पादक मोहिनी मिश्रको ५६ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुर महानगरपालिका वडा १८ की मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज (सोमबार) बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मिश्र विगत दुई वर्षदेखि पेटसम्बन्धी रोगबाट पीडित थिइन् । उनका एक छोरा छन् । नेपाल प्रेस युनियन रासस शाखाको पूर्वअध्यक्ष र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखामा पूर्ववरिष्ठ उपाध्यक्ष समेत रहेकी मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकाश लिएकी थिइन् ।
उनले राससमा दुई दशकभन्दा बढी सेवा गरिन् । मिश्रको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।