तानसेन, फागुन २१ :

पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि  खुला आकाशमा रात काट्न बाध्य भएका छन् । 

कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् । 

आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको  घर जलेर नष्ट भएको रैनादेवी छहरा- ३का वडाध्यक्ष प्रदीप पौडेलले बताए ।

आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका पीडितपरिवार गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि भने खुसी भएका छन् ।

गाउँपालिकाले तत्कालका लागि  एक- एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाललगायत राहत सामग्री  दिएपछि पीडितको अनुहारमा खुसी छाएको हो ।

आगलागीबाट सबै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र घरका अन्य सामान सबै जलेर नष्ट भए । हामीसँग खाने अन्न थिएन, ओत लाग्ने त्रिपाल पनि थिएन, दुुई-चार दिन निकै दुःखले दिन बितायौँ, अहिले पालिकाले दिएको राहत सामग्रीले केही सहयोग मिलेको पीडित पदमबहादुरले बताए।

गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईसहितका जनप्रतिनिधि, कर्मचारीको टोलीले आगलागीपीडितको घरमा पुगेर राहत सामग्री वितरण गरे । अहिले तत्काल आवश्यक देखिएका सामानसहितको राहत प्रदान गरिएको उनले बताए । पछि प्रहरीको मुचुल्काअनुसार क्षतिका आधारमा पालिकाले घर निर्माणका लागि रकमसमेत उपलब्ध गराउने उनको भनाइ छ । 

आगलागीपीडित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले पालिकासँगै अन्य पक्षबाट हुने सहयोगका लागि समन्वय गरिने अध्यक्ष भट्टराईले बताए ।