काठमाडौं, फागुन २१ :

मेक्सिको, क्यानडा र चीनमा कर लगाउने ट्रम्पको घोषणासँगै विश्वभरका सेयर बजारमा मंगलबार उथलपुथल निम्त्याएको छ ।

अमेरिकी सेयर बजारमा सोमबार ठुलो गिरावटपछि बन्द भयो । त्यसको प्रभाव एसियाली सेयर बजारमा पनि देखिएको छ ।

सबैभन्दा ठुलो घाटा जापानको निक्केई २२५ मा रह्यो । जुन १.८ प्रतिशतले घट्यो । हङकङको ह्याङ सेङ सूचकांक र अस्ट्रेलियाको एएसएक्स २०० दुवै शून्य दशमलव ८ प्रतिशतले घटे । दक्षिण कोरियाको कोस्पी भने स्थिर रह्यो । सोमबार नेपालको सेयरबजार नेप्से पनि १३ दशमलव ६२ अंक अर्थात् शून्य दशमलव ४७ प्रतिशतले घटेको थियो ।

यसैगरी मंगलबार भारतको सेयर बजार खुल्नेबित्तिकै ३५० अंकले घट्यो । यद्यपि यसले पछि क्रमश: सुधारको प्रयास गर्‍यो ।

भारतीय सेयर बजारमा शुक्रबार ठुलो गिरावट आएको थियो । गत शुक्रबार सेन्सेक्समा आएको गिरावटका कारण लगानीकर्तामा त्रासको वातावरण छ ।

गत शुक्रबार, सेन्सेक्स १४०० अंकले घट्यो, जुन २८ वर्षमा सबैभन्दा ठूलो गिरावट भनिएको थियो । ‘सेन्सेक्स आफ्नो उच्चतम् स्तरबाट १५ प्रतिशतले ले घटेको छ,’ बजार लगानी सल्लाहकार बी पद्मनाभनले मंगलबार बिहान एक्समा लेखेका छन् । उनले सबैभन्दा धेरै घटेका स्टकहरूको सूची सार्वजनिकसमेत गरेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ । जसमा दुई प्रतिशतबाट ५० प्रतिशतसम्म घटेका स्टकहरू समावेश छन् ।

यसैबीच नेपालको सेयर बजार नेप्से आइतबार ७४ दशमलव २४ अंकले बढे पनि सोमबार १३ दशमलव ६२ अंकले घटेर २८ सय ७६ दशमलव ६६ अंकमा झरेको थियो ।

यसैगरी (क) सोमबार वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७१ अंकले घटेर चार सय ८० दशमलव ५९ अंकमा झरेको थियो । नेप्सेमा सोमबार तीन सयवटा कम्पनीको एक लाख ३९ हजार पाँच सय ५५ पटकको कारोबारमा ३ करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता सेयर खरिद बिक्री भएका थिए । जसमा कुल कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ रुपैयाँ पुगेको थियो ।

आज मंगलबार पनि नेप्से घट्दो क्रममा छ । गएको बिहीबार र आइतबार हरियाली छाएको नेप्से सोमबार गिरावट आएसँगै मंगलबार पनि बजार घटेको छ । यो समाचार तयार पार्दा सम्म (बिहान ११.४० बजे) नेप्से ३ दशमलव ६३ अंकले घटेको छ । जसअनुसार शून्य दशमलव ११ प्रतिशतले नेप्से घटेको हो । यसले लगानीकर्ताको मनोबललाई केही न केही घटाएको देखाउँछ ।