
एउटा व्यक्तिको एउटै खाताबाट एकै प्रकृति कार्ड जारी गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त सबै संस्थाहरुको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार यो निर्देशनअनुसार प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेबिट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न पाइने छैन । ‘डोमेस्टिक कार्ड योजनाअन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन,’ परिपत्रमा भनिएको छ ।
यसअघि प्राकृतिक व्यक्तिको एउटा खाताबाट एक भन्दा बढी कार्ड (पूरक कार्ड) जारी गर्न नपाईने व्यवस्था थियो । ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फारामसँगै कार्ड जारी गर्दा र कारोबार गर्दा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर, कार्डबाट प्राप्त हुने अन्य सुविधाहरू लगायतका विषय समेटिएको सूचनामूलक सामाग्री प्रदान गर्नुपर्ने व्यवस्थालाई भने राष्ट्र बैंकले परिपत्रमार्फत हटाएको छ ।
विद्युतीय भुक्तानी कार्डबाट हुने कारोबारको सेटलमेन्टसम्बन्धमा अनुमतिपत्रप्राप्त संस्थाहरूले जारी गरेका विभिन्न भुक्तानी कार्डहरूबाट नेपालमा नेपाली रुपैयाँमा गरिने कारोबारको फर्स्योट नेपालभित्रै गर्ने व्यवस्था मिलाउनुपर्नेछ । साथै, यस प्रयोजनार्थ अन्तर्राष्ट्रिय स्विचहरूका लागि कुनै जमानत/बन्ड जारी गर्नुपर्ने भए नेपाली रुपैयाँमा जारी गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
विदेशी विनिमयमा आधारित कारोबार, उपकरण, कारोबारको सीमालगायत व्यवस्था यस बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको निर्देशन/परिपत्रबमोजिम हुने तर, केही अवस्थामा उपयुक्त अधिकतम सीमासम्बन्धी व्यवस्थाले बाधा पुगेको नमानिने परिपत्रमा उल्लेख छ ।
परिपत्रअनुसार शाखारहित बैंकिङ सेवा बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । उक्त सेवा बन्द गर्न कम्तीमा ६ महिनादेखि सेवा सञ्चालन नभएको र शाखारहित बैंकिङ सेवा बन्द गर्न प्रस्ताव गरिएको क्षेत्रमा करिब ५ किमि वरिपरि क, ख तथा ग वर्गका बैंक तथा वित्तीय संस्था वा अन्य शाखारहित बैंकिङ सेवा सञ्चालन भई वित्तीय पहुँचको वैकल्पिक व्यवस्था हुनुपर्नेछ ।