
स्वास्थ्य मन्त्रालयका सहसचिव डा. संगीता मिश्रले आफूलाई अन्याय भएको आरोप लगाउँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेकी छन् ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गरेपछि डा. मिश्रले आफू सिनियर भएर पनि उपेक्षित बनाइएकामा असन्तोष व्यक्त गरिन् । स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. मिश्रले आफूभन्दा जुनियरको मातहतमा रहेर काम नगर्ने बताइन् ।
उनका अनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट हटाइएपछि मन्त्री पौडेलले उनलाई कुनै पनि महत्त्वपूर्ण जिम्मेवारी वा समितिमा राखेनन् । डा. मिश्रले आफ्नो कामको सही मूल्यांकन नगरी, मन्त्री पौडेलले आफूलाई महत्त्वपूर्ण स्थानमा राख्न चाहेनन् भन्दै असन्तोष व्यक्त गरिन् ।
स्वास्थ्य सचिवका लागि तीन जनाको सिफारिस सूचीमा डा. मिश्रको नाम प्रमुख थियो, तर अन्तिम चयनमा उनलाई पछि पारियो । उनले स्वास्थ्यमन्त्री पौडेलको नैतिकताबारे प्रश्न उठाउँदै, मन्त्रीको राजीनामा पनि मागिन् ।
उसो त आजै प्रतिनिधिसभामा सांसदहरुले मिश्रलाई सचिवमा बढुवा नगरेको भन्दै स्वास्थ्यमन्त्रीको चर्को आलोचना गरेका छन् । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त स्वास्थ्यमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्न भन्दै माग गरे ।
हेरौं सदनमा स्वास्थ्यमन्त्रीको बर्खास्तीको माग गर्दै सिंहको भनाइ :
