काठमाडौं, फागुन २४ :

बुटवल उपमहानगरपालिका ११ स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।

बुटवलबाट मोतीपुरतर्फको १३२ केभि डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) लाई हटाएर योगिकुटी-होराइजन चोक सडक खण्डमा मोनोपोल (एउटा मात्र खुट्टा) राख्न लागिएको छ ।

करिब एक किलोमिटर सडक खण्डको बीचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउन्डेसन) निर्माण भइरहेको छ । फाउन्डेसनको काम १५ दिनभित्रमा सकिनेछ । मोनोपोल निर्माणस्थलमा आपूर्ति भइसकेको छ । उक्त सडक खण्डमा ३०/३० मिटरका दुईवटा र ३२/३२ मिटरका दुईवटा मोनोपोल जडान गरिनेछ ।

चालु रहेको उक्त प्रसारण लाइनलाई करिब १५ दिन बन्द(सटडाउन) गरेर मोनोपोल जडान गरिनेछ । उक्त खण्डमा रहेका पुरानो टावरलाई हटाइनेछ । साथै, तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी गर्मी सुरु हुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गरे । गर्मी सुरु भएपछि बुटवल क्षेत्रमा विद्युत्‌को माग बढ्ने हुँदा प्रसारण लाइन सटडाउन दिन समस्या हुने भएकाले त्यसभन्दा अघि नै काम सक्न कार्यकारी निर्देशक घिसिङले बुटवल ग्रिड महाशाखालाई निर्देशन दिए ।

सडक र प्रसारण लाइन (तार) बीचको कम हुँदा सडकमा गुड्ने ठुला गाडीहरुले लाइन छोएमा हुन सक्ने दुर्घटनाको अन्त्य गर्न योगिकुटी- होराइजन चोक सडक खण्डमा मोनोपोल राख्न लागिएको हो । हाल सडक र लाइनबीचको दूरी ६ मिटरभन्दा कम छ । मोनोपोल राखिएपछि सडक र लाइनबीचको दूरी करिब नौ मिटर हुनेछ ।

प्रसारण लाइनको टावर हाल बीचमा हुँदा उक्त सडक खण्ड साँघुरो रहेको छ । हालको टावरको बेसमेन्टको व्यास करिब ८ मिटर छ । मोनोपोलको बेसमेन्टको व्यास करिब साढे दुई मिटर मात्र हुनेछ । यसले गर्दा सडक पनि फराकिलो हुनेछ । साथै, मोनोपोल राखिएपछि हालको प्रसारण लाइनको मार्गधिकार घट्ने भएकाले त्यसको दायाँ-बायाँ रहेका घरहरु पनि थप सुरक्षित हुनेछन् ।

मोनोपोल निर्माणका लागि तीन करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम अगागी जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।