
नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ लगानीका लागि प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका नाममा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको हो । कर्मचारी सुरक्षण कोषमा रहेको रकम ३६६ दिने मुद्दतीका रुपमा लगानी गर्न प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकको भनाइ छ ।
रकम लगानीको अवधि २०८१ चैत ३ गतेदेखि २०८२ चैत ३ गतेसम्म तोकिएको छ । रकम लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले यही फागुन २७ गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याजसमेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार लगानीका लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुका लागि १६ करोड, विकास बैंकहरुका लागि तीन करोड र फाइनान्स कम्पनीहरुका लागि एक करोड रुपैयाँ तोकिएको छ ।
रकम लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई वर्ष पूरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायत प्रावधान तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।