
सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिको प्रकार र मात्रा अध्ययन हुने भएको छ । महानगरपालिकाका बिहीबार उपप्रमुख एवं सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल चलाउने, फार्मेसीका लागि आवश्यक पर्ने औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो ।
आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आवद्ध नभएका नागरिकहरुका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरु जेनेरिक फार्मेसीको अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य हो । औषधिको ब्रान्ड नामका आधारमा नभइ औषधिमा भएका तत्त्वका आधारमा बिरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो । यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले २०८१ सालमा फार्मेसी सञ्चालन तथा नियमनसम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिकाअनुसार महानगरपालिकाले औषधि पसलहरुको नियमन गर्न सकिन्छ ।
महानगरपालिका मातहतमा भएका र अन्य फार्मेसीहरुको सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको सुनीता डंगोलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट म्रमुखले मनोनयन गरेको विज्ञ सदस्य छन् भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव छन् ।
बैठकमा नार्कोटिक, एन्टिबायोटिक, हर्मोनिक जस्ता डाक्टरको प्रेस्क्रिप्सनबाट मात्र दिन सकिने र ओटीसी (ओभर दी काउन्टर) औषधि प्रदान गर्न डाक्टरको प्रेस्क्रिप्सन नचाहिने औषधिको सम्भावित मागका विषयमा छालफल भएको थियो ।
सुलभ औषधि पसलका लागि औषधिको प्रकार र परिमाण अध्ययन हुने
महानगरपालिकाले एउटा केन्द्रीय फार्मेसी र अन्य विभिन्न ५ ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
उत्पादकदेखि उपभोक्तासम्म सुपर थोक विक्रेता, थोक विक्रेता, खुद्रा विक्रेताको कमिसन, कतिपय औषधिमा दिइनेछ बोनसजस्ता तहका कारण औषधिको मूल्य चर्को भएको उपभोक्ताहरुको गुनासो सुनुवाइ गर्दै महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्न लागेको उपप्रमुख डंगोलको भनाइ छ ।
सुलभ फार्मेसी सञ्चालनले सर्वसाधारणलाई उपचारात्मक स्वास्थ्य सेवामा ठुलो राहत हुनेछ । छलफलमा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले, महानगरको जनघनत्व र भूगोलको क्षेत्रफल समेतलाई ध्यानमा राखेर थप पाँचवटा स्थानमा सुलभ फार्मेसी खोल्ने योजना रहेको र हालका लागि यो नमुना कार्यक्रमका रुपमा को सञ्चालन गर्न लागिएको बताए । ‘यसबाट प्राप्त हुने अनुभव, सिकाइ र पृष्ठपोषणका आधारमा थप स्थानहरुमा सुधार गर्दै विस्तार गर्ने योजना रहेको छ,’ महर्जनले योजना सुनाए ।
यसरी सञ्चालन हुने फार्मेसीबाट प्रेस्काइभर (औषधि लेखिदिने डाक्टर) प्रभावमा पार्ने जोखिम सकिन्छ । यसो हुनु भनेको स्वार्थप्रेरित औषधि दिने क्रम सकिनु हो । यसले औषधिको गुणस्तर र मूल्य सुनिश्चित हुन्छ ।
छलफलमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नूरनिधि न्यौपाने, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, फार्मेसीविज्ञ डा. सतिश देव, स्वास्थ्य सल्लाहकार डा. मनेनप्रसाद गोर्खाली, सचिवालय सदस्य सुदीप ढकालसहित विभागका अधिकारीहरु सहभागी थिए । त्यस क्रममा सहरी योजना आयोगका इन्जिनियर र आर्किटेक्टहरुले फार्मेसीको ड्रइङ डिजाइन प्रस्ताव पेस गरेका थिए ।
