महोत्तरी, फागुन २४ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनैपर्ने बताएका छन् ।

आज महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्‌घाटन गर्दै उनले स्थानीय तह जनताकाे सबैभन्दा नजिकको सरकार भएकोले स्थानीय कृषि उत्पादनको बजार प्रवर्द्धन र आधुनिकीकरणमा ध्यान दिनपर्नेमा जोड दिए । 

यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने देउवाले उल्लेख गरे ।

स्थानीय तह जनताको पहुँचको पहिलो सरकार भएको र जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुने सभापति देउवाको भनाइ छ ।

स्थानीय तह दैनिक काममा जनतासँग सोझो सरोकार राख्ने भएकाले प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने देउवाको सुझाव छ ।