
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
अन्तर्राष्ट्रिय महिला दिवस- २०२५ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक रहेको बताएकी हुन् ।
नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री डा राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताइन् ।
विगतदेखि नै आफू महिला अधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता जनाएकी छिन् ।
उनले ग्रामीण र सीमान्तकृत समुदायका महिलाको क्षमता वृद्धि गरी राज्य सञ्चालनका क्षेत्रमा उनीहरूको पहुँच पुर्याई किशोरीहरूको भविष्य सुनिश्चिताका लागि एकताबद्ध भएर लाग्न अनुरोध समेत गरेकी छिन् ।