
खानेपानीमन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
मोरङको पथरीशनिश्वरे नगरपालिकामा रहेको पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहमा शनिबार उनले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने लक्ष्य लिएको बताए । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्न सबै जुट्नुपर्ने उनले बताए ।
‘पथरीशनिश्वरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन, यो सरकारको प्रतिबद्धताको प्रतीक हो,’ उनले भने, ‘स्वच्छ पानी, स्वस्थ जीवन भन्ने मूलमन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघि बढौँ ।’
यसैगरी मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पुर्याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी गराए । उनले भने, ‘आज यहाँ शिलान्यास भएको आयोजना एउटा महत्त्वपूर्ण कडी हो । सरकारको एक घर, एक धारा अभियानले मुलुकभरिका नागरिकलाई प्रत्यक्ष रूपमा सुरक्षित पानी आपूर्ति गर्नेछ ।’
नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवले बताए । नेपाल सरकारले खानेपानी सेवालाई अझ प्रभावकारी, दिगो र सर्वसुलभ बनाउने प्रतिबद्धता लिएको समेत मन्त्री यादवले बताए । उनले भने, ‘हामी सबैको सहकार्य, समर्पण र दृढ इच्छाशक्तिका माध्यमबाट नेपाललाई स्वच्छ, सुरक्षित र समृद्ध राष्ट्र बनाउने हाम्रो साझा लक्ष्यलाई हामी अवश्य प्राप्त गर्नेछौँ ।’
कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, आयोजनाका प्राविधिक, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।