
विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्वलन गरिएको छ ।
चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्वलन गरिएको हो ।
धम्मकाय फाउन्डेसनले भिक्षु- भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रव्रजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्वलन गरिएको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गरिएको बताए । उनले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।
सकियो त्रिपिटक पाठ
बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित चारदिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ पनि सकिएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।