काठमाडौं, फागुन २६ :

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको २७औँ वार्षिक साधारणसभाबाट आव ०८०/८१ को वितरणयोग्य मुनाफा तथा गत आवको सञ्चित मुनाफाबा चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९लाख ६१ हजार पाँच सय ३० (कर प्रयोजनार्थसहित) नगद लाभांश पारित भएको हो ।

साधारणसभामा अध्यक्ष हेमराज ढकालले समीक्षा वर्षमा कम्पनीले तीन अर्ब ५३ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको जनाए । उनले गत वर्षको दाँजोमा सात दशमलव १२ प्रतिशतले वृद्धि गर्न सफल भएको पनि जनाए ।

उनका अनुसार कम्पनीको आफ्नै जग्गामा निर्माणधीन ११ तलाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सबै काम करिब ६ महिनाभित्र सकिने अपेक्षा रहेको छ । यसैगरी कम्पनीले आगामी वर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडि सारेको र सोलाई क्रमश: व्यवस्था गर्दै लगिने पनि अध्यक्ष ढकालले जनाए ।

बिमाको पहुँचलाई देशको सबै क्षेत्रमा पुर्‍याउने हेतुले सातै प्रदेशमा रहेका ६९ शाखा तथा उपशाखा र १४ सेवा काउन्टर गरी ८३ स्थानमा कम्पनीले आफ्नो उपस्थिति रहेको जनाएको छ । कम्पनीले पाँच सय एक कर्मचारीमध्ये ४५.७९ प्रतिशत महिला कर्मचारी रहेको, ४ सय अभिकर्ता र १९१ सर्भेयरहरुमार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

कम्पनीले गत आव ०७९/८० मा हासिल गरेको बिमा प्रिमियम रकम तीन अर्ब ३९ करोड ४५ लाखमा ७.१२ प्रतिशतले वृद्धि गरी समीक्षा वर्षमा तीन अर्ब ६३ करोड ६१ लाख बिमा प्रिमियम संकलन गर्न सफल भएको पनि जनाएको छ ।