
काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा फोहोरमैला र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ।
महानगरले आइतबारको जुलुसपछि राप्रपा केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशालालगायतका क्षेत्रमा फोहोर गरिएको तथा सडक, सडकपेटी, ट्राफिक आइल्यान्ड र रेलिङमा भौतिक क्षति पुर्याइएको उल्लेख छ। यसलाई फोहोर-मैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०५१ अन्तर्गत जरिवाना गरिएको महानगरले जनाएको छ।
पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किएपछि उनका समर्थकहरूले काठमाडौँमा भव्य स्वागत गर्दै नाराजुलुस निकालेका थिए । जुलुस विमानस्थलबाट सुरु भएर निर्मल निवाससम्म पुगेको थियो ।
यस्तै, नेकपा (एमाले) लाई पनि गत मंसिर ७ गते दरबारमार्गमा जागरण सभा गर्ने क्रममा फोहोरमैला फैलाएको भन्दै एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।