काठमाडौं, फागुन २७ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ।  

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपा सुशासन र विधिको शासनमा विश्वास गर्ने जनाउँदै सोमबार महानगर प्रहरी प्रमुखलाई भेटेर महानगरको बैंक खातामा जम्मा गरेको जरिवानाको रसिद बुझाएका छन्।

‘हामी राप्रपा सुशासन र विधिको शासनमा विश्वास गर्छौं, शाहीले भने,‘राजाको स्वागतमा लाखौं नागरिक हिँडिरहेका थिए, र यदि सडकमा केही कुल्चिए पनि, हामी महानगरपालिकाको निर्णयलाई स्वीकार्छौं। यसैले, हामीले एक लाख रुपैयाँ काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं।’

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा आइतबार काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति भएको कारण देखाउँदै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।