
वीरगञ्ज, फागुन २७ :
ऋण तिर्दासमेत साहुले जग्गा फुकुवा गर्न नमानेपछि पर्सा जिल्ला प्रशासन कार्यालय परिसरमा एक जना मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन्।
बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज महानगरपालिका-२४ रामगढवा टोलमा डेरा गरी बस्ने ६० वर्षीय वृद्धले सोमबार दिउँसो जिल्ला प्रशासन परिसरमा आत्मदाहको प्रयास गरेका हुन्।
उनले १ लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख पर्ने जग्गा साहुको नाममा पास गरिदिँदा पनि साहुले जग्गा फुकुवा गर्न नमानेको र आफूले न्याय पाउन नसकेको भन्दै उनले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।
शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका ती वृद्धलाई प्रहरीले रोकेर उद्धार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। नारायणी अस्पतालमा भर्ना गरिएको तथा उनको अवस्था समान्य रहेको बताइएको छ।