
खानेपानीमन्त्री प्रदीप यादवले विद्यार्थीहरूका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न अति आवश्यक रहेको बताएका छन् ।
वीरगन्ज महानगरपालिकामा आज (सोमबार) समाजवादी विद्यार्थी युनियनद्वारा आयोजित होली मिलन समारोहमा उनले विद्यार्थीहरूका चाहना, आकांक्षा र भावनाअनुरूप नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘विद्यार्थी राष्ट्र निर्माणका आधारशिला हुन् । उनीहरूको अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न जरुरी छ ।’
कार्यक्रममा मन्त्री यादवले विगतको तुलनामा अहिलेका विद्यार्थी झन् सचेत, जागरूक र परिवर्तनमुखी रहेको हुँदा देश निर्माणमा उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । देशको भविष्य निर्माण गर्ने र परिवर्तनका संवाहक विद्यार्थीहरूलाई साथ र सहयोग गर्न आफू सधैं तयार रहेको मन्त्री यादवले बताए ।
उनले विद्यार्थीहरूका समस्या समाधान गर्न जनता समाजवादी पार्टीसहित आफू व्यक्तिगत रुपमा सधैं प्रतिबद्ध रहेको उल्लेख गरे । ‘तपाईंहरुका समस्या समाधानका लागि जसपा तयार छ । तपाईहरुलाई के सहयोग गर्नु पर्छ खुलेर जानकारी गराउनुहोला,’ उनले भने, ‘समस्या समाधानका लागि हामी सधैं तयार रहेको छौँ ।’
वीरगन्जको ठाकुराम क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गरिनेसमेत मन्त्री यादवले विश्वास दिलाए । उनले भने, ‘ट्युबेलको व्यवस्था गरेर भए पनि यस क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्छु, यो मेरो प्रतिबद्धता भयो ।’
क्याम्पसका जीर्ण रहेका भौतिक संरचनाहरुको पुनर्निर्माण गरिनेसमेत उनले जानकारी दिए । ठाकुराम क्याम्पसमा विद्यार्थी सँगसँगै कर्मचारीहरु पनि आफ्नो कामको जिम्मेवारीमा निपूर्ण हुनुपर्नेमा मन्त्री यादवले जोड दिए । उनले भने, ‘क्याम्पसका कतिपय कर्मचारी राजनीति गर्ने नेताका रुपमा प्रस्तुत हुने गरेका छन् । त्यो गलत हो । कर्मचारीले राजनीति गर्नु हुँदैन ।’
क्याम्पसमा वैज्ञानिक शिक्षा प्रणाली लागु हुनुपर्ने मन्त्री यादवको भनाइ थियो । मन्त्री यादवले ठाकुरराम क्याम्पसमा आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरूलाई विगतका कमजोरी सुधार गर्दै, रिस-राग त्यागेर निर्वाचनमा संलग्न हुन आग्रह गरे ।
यसै अवसरमा मन्त्री यादवले आउँदै गरेको रङ र उमंगको पर्व होलीको समेत सबैमा शुभकामना व्यक्त गरेका छन् । समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष हरिन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री मोहनलाल चौधरी, पूर्व प्रदेशसभा सदस्यद्वय जन्नत अन्सारी, भीमा यादवलगायतको पनि सहभागिता थियो ।