
कैलालीको कालेखोलामा पुल नहुँदा बालबालिकाहरु जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।
खासगरी वर्षाको समयमा चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जानुपर्ने अवस्था छ ।
पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो विद्यालय पुर्याउने र ल्याउने गर्दै आएका छन् ।
विद्यार्थी निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको छ । ठूलो पानी पर्ने बित्तिकै बालबालिकाहरु विद्यालय नै आउँदैनन् ।
गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीयहरुको भनाई छ ।
चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभयो ।