
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य रूपमा होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन्।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले मंगलबार जारी गरेको सूचनामा उच्छृङ्खल र तडकभडक नगरी शान्तिपूर्ण रूपमा पर्व मनाउन आग्रह गरेका छन्।
सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ अनुसार धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू व्यवस्थित र नियमन गरिएको उल्लेख गर्दै उनले सार्वजनिक स्थानमा होहल्ला, झैझगडा, मादक पदार्थ सेवन, जबर्जस्ती रङ दल्ने तथा अमर्यादित गतिविधि नगर्न आग्रह गरेका छन्।
ललितपुर र भक्तपुर प्रशासनले पनि छुट्टाछुट्टै सूचना जारी गर्दै होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य रूपमा मनाउन अनुरोध गरेका छन्। यही फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ।