राष्ट्रिय सभा परिपक्व सदस्यहरूको सभा हो । यो सभाले आफूलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्दै आएको छ ।
संविधानको मूल मर्मअनुरुप यसले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी जनताका सवाललाई उठाएर सरकारसम्म पुर्याउने काम गर्दै आएको छ । विकास निर्माणमा सरकारलाई घच्घच्याउने काम पनि गर्दै आएको छ । तर पछिल्लो समय प्रतिनिधिसभाका एक सांसदले राष्ट्रिय सभालाई ‘वृद्धाश्रम’ भनेर होच्याएको पनि पाइयो । तर त्यसो होइन । कानुन निर्माण गर्ने सवालमा प्रतिनिधिसभाको तुलनामा बढी छलफल हुन्छ राष्ट्रिय सभामा । सरकारले ल्याएका सबै विधेयकमा राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा विस्तृत रूपमा छलफल हुन्छ । समितिमा सरोकारवाला विज्ञलाई बोलाएर छलफल गरिन्छ । म प्रतिनिधिसभामा पनि सांसद थिएँ । तर त्यहाँ राष्ट्रिय सभामा जति छलफल हुँदैन ।
जनता समाजवादी पार्टी नेपालले पहिलेदेखि नै अहिलेको संविधानमा सुधार गर्नुपर्छ भन्दै आएको हो । अहिले पनि भन्छौँ, संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ । संविधानमा धेरै कुरा छुटेका कारण कतिपय विषय कार्यान्वयन हुनसकेको छैन । जस्तो, संघीयताको सही कार्यान्वयन हुनसकेको छैन । संघीयता कार्यान्वयनका लागि बनाउनुपर्ने कानुन पनि बन्न सकेका छैनन् । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिएको छैन ।
प्रहरीविना, कर्मचारीबिना प्रदेश सरकार चलिरहेको छ । यदि संघीयतालाई अझै बलियो र सुदृढ बनाउने हो भने संघीय सरकारले जतिसक्दो चाँडो संघीयतासम्बन्धी कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ । शिक्षा ऐन पनि आउन सकेको छैन । संविधान संशोधनकै लागि हामीले वर्तमान सरकारलाई अहिलेसम्म समर्थन गरिरहेका छौँ । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्छु भनेर यो सरकारलाई समर्थन दिएको हो ।
सरकारले मधेसी समुदायको मात्र होइन, महिला, आदिवासी जनजाति, दलितलगायत समग्र सीमान्तकृत समुदायको निम्ति काम गर्नुपर्छ । सरकारले कसैलाई पनि भेदभाव गर्नु हुँदैन । सरकारको नजरमा सबै जनता बराबर हुन् । सरकारले सीमान्तकृत समुदायसँग सम्बन्धित कानुन बनाएर लागू गर्नुपर्छ । कानुनमा कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन । सरकार सबैको हो । सुशासनको निम्ति पहिला भ्रष्टाचार अन्त्य गर्नुपर्छ । प्रधानमन्त्री वा मन्त्रिपरिषद्का सदस्यले भ्रष्टाचार गरेका छन् भने पनि कारबाही हुनुपर्छ । भ्रष्टाचार अन्त्य गर्ने हो भने सरकारमा रहेका मन्त्री र राजनीतिक दलका नेताबाट छानबिन सुरु गर्नुपर्छ । त्यसपछि निजामती कर्मचारीमा पनि छानबिन गर्नुपर्छ । यहाँ त भ्रष्टाचारीलाई ढाकछोप गर्ने चलन छ । आर्थिक हिनामिना गरेको छ, भ्रष्टाचार गरेको छ भने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्छ ।
म राष्ट्रिय सभामा जतिन्जेल बस्छु, जनताको पक्षमा कानुन निर्माणका लागि भूमिका निर्वाह गर्नेछु । जनताका सवाललाई सरकारसमक्ष पुर्याउन पहल गर्नेछु ।
यो देशको मुख्य समस्या भनेकै स्थिर सरकार नहुनु हो । एउटाले बल्लतल्ल सरकार बनाएको हुन्छ, अर्कोले ढाल्ने खेल सुरु भैहाल्छ । नौ-नौ महिनामा सरकार परिवर्तन भएर कहाँबाट विकास हुन्छ ? मन्त्रीहरूले राम्रोसँग बुझ्न नपाउँदै सरकार ढलिसक्छ । जोपनि प्रतिपक्षमा हुँदा ठूला- ठूला कुरा गर्ने सरकारमा गएपछि केही पनि नगर्ने परिपाटी छ । जनताको अवस्था कसरी सुधार गर्ने भन्नेतर्फ कुनै राजनीतिक पार्टीको ध्यान छैन । देश विकासका बारेमा कसैले सोचेकै छैन । भाषण ठुल्ठूला गर्ने, काम भनेको सत्तामा जाने मात्रै गर्ने । खासगरी, देशका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सत्ताकेन्द्रित राजनीति मात्र नगरी मुलुकका मुख्य समस्यालाई सम्बोधन गर्न गम्भीर हुनुपर्ने खाँचो छ ।
विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि शोषित, पीडित, उपेक्षित समुदाय सङ्गठित हुनु जरुरी छ । देशमा संघीय शासन व्यवस्था त्यसै आएको होइन, कठोर सङ्घर्षबाट आएको हो । परिवर्तनबाट थोरै भए पनि अधिकार प्राप्त गरेका जनताले महसुस गर्न पनि पाएका छैनन् । शोषित, पीडित, उपेक्षित जनतालाई यो व्यवस्थामा कमबेसी राहत मिलेको छ । यसलाई पनि उल्ट्याउन विभिन्न शक्तिहरू सक्रिय भएको देखिन्छ ।
देशबाट युवा पलायन रोक्न सरकारले रोजगारी सिर्जना गर्नुपर्छ । हाम्रो देश कृषिप्रधान हो । यहाँ झन्डै ६५ प्रतिशत जनता कृषि पेसामा छन् । तर कृषकले समयमा मल पाइरहेका छैनन्, सिँचाइको भरपर्दो सुविधा पनि छैन । कृषिलाई आधुनिकीकरण गरेर वैज्ञानिक प्रविधिसँग जोड्नुपर्छ । त्यसो गरेको खण्डमा आयात प्रतिस्थापन गर्न सक्छौँ । अहिले अर्बौँको कृषिउपज आयात भइरहेको छ । देशभित्रै आम्दानीका स्रोत उपलब्ध भए ४०-५० डिग्री तापक्रममा काम गर्न कुन युवा विदेश जान्छ र ? त्यसैले सरकारले कृषिमा लगानी बढाउँदै लैजानुपर्छ । हामी सांसदको काम कानुन बनाउने हो । जनताका विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने हो । अब म राष्ट्रिय सभामा जतिन्जेल बस्छु, जनताको पक्षमा कानुन निर्माणका लागि भूमिका निर्वाह गर्नेछु । जनताका सवाललाई सरकारसमक्ष पुर्याउन पहल गर्नेछु ।
(जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष मृगेन्द्रकुमारसिंह यादव राष्ट्रिय सभाको सदस्य हुन् । २०४३ सालमा पहिलोपटक राष्ट्रिय पञ्चायतको सदस्यसमेत बनेका यादव पूर्वमन्त्री, प्रतिनिधिसभाको सांसद समेतका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । विगत पाँच वर्षदेखि उनी राष्ट्रिय सभामा सदस्यका रुपमा छन् । विगत लामो सयमदेखि मधेसी समुदायको अधिकारको निम्ति सङ्घर्ष गर्दै आएका यादव परिपक्व नेता मानिन्छन् । प्रस्तुत विचार राससले गरेको कुराकानीमा आधारित छ ।)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान