काठमाडौं, फागुन २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले काङ्ग्रेसका नेताले सत्ताको दुरुपयोग गर्दै सार्वजनिक जग्गा हडपेको आरोप लगाएपछि कांग्रेसका सांसदहरुले आपत्ति जनाएका छन् ।

उनको भनाइलाई लिएर  काङ्ग्रेस सांसद राजेन्द्र केसीले आपत्ति जनाएपछि रास्वपा सांसद सुमना र सांसद केसीबीच संसद भवनभित्रै भनाभन भयो ।

सुमनाले  काठमाडौं ६ मा तारकेश्वर वडा ९ को लोकतान्त्रिक चोकको नेपाल सरकारको जग्गा काङ्ग्रेसका नेताले भोगचलन गर्दै आएको र स्थानीयले उजुरी गर्दा पनि सुनुवाइ नभएकामा ध्यानाकर्षण गराएकी थिइन् । कित्ता नम्बर ६२ र ६३ कांग्रेसका नेताले कब्जा लिई भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको भन्दै त्यसबारेमा उनले बोलेकी थिइन् ।

त्यस विषयमा काङ्ग्रेस सांसद राजेन्द्र केसी, कांग्रेसकी सचेतक सुशीला थिङ र सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाएका थिए । तथ्यहीन आरोप लगाएको भन्दै कांग्रेसका सांसदहरुले रास्वपाका सांसदको आभिव्यक्ति हटाउन माग गरेका थिए ।

सभामुख देवराज घिमिरेले संसद्‍मा राखेको विषय तथ्यमा आधारित हुनुपर्ने बताए । यो विषय तथ्यमा छ वा छैन भन्ने विषयमा स्वयम सांसद जिम्मेवार हुने बताए । कुरा उठाउनेबित्तिकै हटाउने नभएर तथ्य नरहेको थाहा लागेपछि हटाउन सकिने उनले बताए ।

‘मान्य सदस्यहरूले आफ्नो समयमा आफूले राखेका कुराहरू प्रमाणित हुने गरी राख्नुभएको हामीले बुझेका छौँ । यस्ता कुरा लाञ्छना हो वा झुटो हो,’ उनले भने, ‘यहाँ वादविवाद गरेर जाने होइन प्रक्रियागत हिसाबले लाग्नुपर्छ । आफू उत्तरदायी भएर बोल्नुहुनेछ भन्ने हाम्रो बुझाइ छ ।’

सदनमा भनाभन भएपछि सभामुख देवराज घिमिरेले संसद्‌मा तथ्यपरक विचार राख्न ध्यानाकर्षण गराए ।