
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्तारुढ कांग्रेस र एमालेको नालायकीका कारण इतिहास भइरहेको सामन्ती राजतन्त्रले टाउको उठाउने जमर्को गरेको बताएका छन् ।
मगर राष्ट्रिय मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहलाई रुपन्देहीमा सम्बोधन गर्दै पुनले कांग्रेस र एमालेको कुशासन, भ्रष्टाचार र बेथितिका कारण निरंकुश राजावादी शत्तिले इतिहास भइसकेको पुरानै स्वर्ग फर्काउन सकिन्छ कि भन्ने प्रयत्न गरेको बताए ।
‘दुईतिहाइ गठबन्धनका नाममा सरकार चलाएका दुई दलले बिचौलिया वर्ग, स्वार्थ समूह र आफ्नो पार्टीको पनि सीमित गुटको स्वार्थमा सत्ताको दुरुपयोग गरिरहेका छन्,’ पुनले भने, ‘शासनमा रहेकाहरुको नालायकीको फाइदा उठाएर निरंकुशतावादी प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोसिस गरिराखेका छन् । मुलुकका लागि यी दुवै प्रवृत्ति घातक छन् ।’
जनताको बलिदानीपूर्ण संघर्ष र त्यागबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई दलाल तथा पुँजीपति र बिचौलिया वर्गले सत्ता स्वार्थमा प्रयोग गरेका कारण जनता र खासगरी युवा वर्गमा व्याप्त निराशालाई प्रतिगामी शक्तिले व्यवस्थाविरुद्ध उपयोग गर्न खोजेको टिप्पणी पुनको थियो । उनले आफूहरुले जनयुद्ध लडेर ल्याएको गणतन्त्र, संघीयता, समेवेशीता तथा उत्पीडित जाति, क्षेत्र, वर्ग, लिंगका अधिकार रक्षाको दायित्व पनि आफूहरुकै भएको बताए ।
उनले परिवर्तनमाथि धावा बोल्ने दक्षिणवादी प्रवृत्ति र यथास्थितिवादी शक्तिविरुद्ध एकैसाथ प्रहार गर्ने नीतिसहित आफूहरु अगाडि बढ्ने उल्लेख गरे । ‘दलाल तथा बिचौलिायहरुलाई प्रोत्साहन गर्ने कांग्रस र एमालेको सरकारले जनतामा र त्यसमा पनि युवाहरुमा निराशा बाँडेको छ,’ उनले भने, ‘आन्दोलनमार्फत किसान, महिला, मजदुर, उत्पीडित, जाति, क्षेत्र र वर्गले प्राप्त गरेको अधिकार रक्षा गर्ने र थप सशक्त गर्दै अगाडि बढ्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’