काठमाडौं, फागुन २९ :

होली पर्वको पूर्वसन्ध्यामा बजारमा रौनक छाएको छ । प्रत्येक वर्ष फागुपूर्णिमा हुने होली पर्व यस वर्ष बिहीबार (भोलि) र शुक्रबार (पर्सि) परेको छ ।

पहिलो दिन पहाडी जिल्ला र दोस्रो दिन तराईका जिल्लामा होली पर्व मनाइँदै आइएको छ ।  होली पर्व नजिकिएसँगै बजारमा पनि चहलपहल बढेको हो । होलीका लागि लुगा, रङलगायत सामान किन्नेको चहलपहल बढेको हो । पछिल्लो समय होली खेल्दा प्रयोग गरिने रङ रसायनयुक्त हुने हुँदा सचेत रहन चिकित्सकले सुझाव दिएका छन्। 

सरकारले सम्भावित घटनाप्रति सजक र सतर्क रही सुरक्षित तरिकाले होली पर्व मनाउन अनुरोध गरेको छ । होलीलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरिएको छ ।

प्रहरीले आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसँग मात्र होली खेल्न पनि अपिल गरेको छ । साथै, रेलिङ नभएको छत, सडक तथा भिड हुने जोखिमपूर्ण स्थानमा होली नखेल्न पनि प्रहरीले सचेत गराएको छ ।

होली पर्वका नाममा मदिरा सेवन नगर्न, असभ्य र अश्लील किसिमका गीत नबजाउन र साँझ अबेरसम्म होली नखेल्न, ध्वनि प्रदूषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको चर्को आवाजमा बाजा, माइक आदिको प्रयोग नगर्नसमेत प्रहरीको आग्रह छ ।

हेरौं काठमाडौं असनमा होली पर्वलक्षित सामग्री किनमेल गर्दै सर्वसाधारणको चहलपहलका थप तस्बिर :