
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका एकापसमा रङ खेलेर मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ ।
आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । वसन्तपुरको होलीमा नेपाली र विदेशीसमेत सहभागी हुने गरेका छन् ।
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोसँगै नाचगान समेत गरिन्छ । होली पर्व सभ्य र व्यवस्थित बनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी परिसर काठमाडौँले सबैमा अनुरोध गरेका छन् ।
प्रहरीले अनुमतिबिना कसैलाई पनि रङ नलगाउन, लोला नहान्न, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन आग्रह गरेको छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चल्दै आएको विश्वास गरिन्छ ।
फागु पर्वका उपलक्ष्यमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष तराईमा शुक्रबार होली मनाइँदै छ ।