.jpg)
महिलाको आर्थिक सशक्तीकरण गर्न सके मात्रै सिंगो समाज र देश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारणसभा तथा स्थापना दिवसको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले महिलाहरू आर्थिक रूपमा सशक्त भए मात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने बताइन् । आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने भन्दै उनले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिइन् । महिला उद्यमी र व्यवसायीहरुलाई निर्धक्कसँग स्वच्छ व्यवसाय गर्न आग्रह गर्दै उनले भनिन्, ‘तपाईंहरुले तिरेको करबाट राज्य संयन्त्र चलेको छ । त्यो कर कहाँ र कसरी सदुपयोग भएको छ । त्यसबारेमा पनि चासो लिने गर्नुस् ।’
आममहिलाबारे नीतिगत रुपमा राज्यले र व्यवहारिक रुपमा समाजले समान धारणा बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने उनको भनाइ थियो । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष विष्णुमाया उचहीले महिलालाई सफल उद्यमी बनाउन महिलामैत्री नीतिको खाँचो रहेको बताइन् । महिलालाई उद्यमशील बनाउन तालिमका साथै आर्थिक र प्रविधिक क्षेत्रको सहज पहुँच हुनुपर्नेमा उनले जोड दिइन् ।
नेपालले संविधान र अन्य कानुनमार्फत महिलाको हक-अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागु गरेको बताउँदै उनले मुलुकको समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्तीकरण गर्नुपर्ने आवश्यकता औंल्याइन् । महिलाहरू आर्थिक रूपमा सशक्त भएकै कारण महिलामाथि हुने हिंसा कम भएको भन्दै उनले पछिल्ला दिनमा महिलाहरू आर्थिक रूपमा सशक्त हुँदै गएको बताइन ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले हिजोका दिनमा संघबाट सुरु भएको महासंघ सातै प्रदेशमा पुगेको र महासंघअन्तर्गत महिला उद्यमी समिति पनि सक्रियताका साथ अगाडि बढेको बताए । उनले महासंघको नेतृत्व सफल हुनु भनेको आमव्यवसायी तथा संगठनका सबै पदाधिकारीहरु सफल भएको भन्दै यसलाई मनन गरेर सामूहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा कहीँ कतै कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष मधुबहादुर कार्की, निवर्तमान अध्यक्ष मोहन कटुवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवाल, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका महासचिव विवेकदास श्रेष्ठ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका सदस्य प्रभा घिमिरेलगायतले बोलेका थिए ।
कार्यक्रममा महासंघ केन्द्रीय महिला उद्यमी समितिका सदस्यहरु अनीता प्रधान अमात्य, अम्बिका बस्नेत, विमला कुवँर शेख, मिश्रीमाया श्रेष्ठ, रजनी श्रेष्ठ, शोभा श्रेष्ठ, सुनकेशरी श्रेष्ठ र तारा बुढाथोकीलाई सम्मान गरिएको थियो ।