नयाँदिल्ली, फागुन ३० :

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतमा सात महिनाभन्दा बढी समय बिताइसकेकी छन् । अझै उनी त्यहाँ कतिसम्म बस्छिन् भन्ने टुंगो छैन ।

गत वर्ष अगस्त ५ मा जब हसिनाको विमान भारतको हिंडन एयरबेसमा अवतरण भयो, त्यतिबेला भारतले यो यात्रालाई एक साधारण 'स्टपओभर' मात्र ठानेको थियो । अनुमान गरिएको थियो कि उनी ६-७ घण्टा मात्रै भारतमा रहनेछिन् । तर, त्यो अनुमान गलत साबित भयो।

२२ जुन २०२४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेट गरेकी हसिना हालसम्म भारतमै राजकीय अतिथिका रूपमा बसिरहेकी छन् । तर, भारतले उनलाई अहिलेसम्म कुनै तेस्रो देशमा पठाउन सकेको छैन, न त उनलाई आधिकारिक रूपमा राजनीतिक शरण नै दिएको छ ।

यो असमञ्जस अवस्थामा भारतले शेख हसिनाको भविष्यबारे के योजना बनाइरहेको छ भन्ने स्पष्ट छैन । बंगलादेशमा राजनीतिक अस्थिरताकोबीच उनी भारतमा रहिरहनुका कूटनीतिक र रणनीतिक आयामहरूबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

भारतले शेख हसिनालाई दीर्घकालीन रूपमा राख्ने कि उनलाई कुनै तेस्रो देश पठाउने भन्ने विषय अझै अनिश्चित देखिन्छ । बंगलादेशको भविष्य र भारत-बंगलादेश सम्बन्धमा यसले कस्तो प्रभाव पार्नेछ भन्ने चासो बढ्दै गएको बीबीसीले उल्लेख गरेको छ ।