
फागु पूर्णिमाको अवसर पार्दै नेपाली चलचित्र ‘अञ्जिला’ सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।
जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।
काठमाडौंमा सोमबार भएको प्रिमियर यस चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।
‘अञ्जिला’लाई देशभरमा हलहरूले उत्साहजनक शो प्रदान गरेका छन् । जसमा सुरुवातका धेरै शोहरूमा दर्शकको चाप देखिएको छ । सामान्यत: फागु पूर्णिमाको दिन मध्य दिनसम्मका शोहरूमा दर्शक कम देखिने गरे पनि ‘अञ्जिला’को हकमा भने त्यो लागु भएको छैन । सुरुवातीका शोहरूमा समेत दर्शकको संख्या व्यापक देखिएको वितरक करण श्रेष्ठले बताए ।
यस चलचित्रमा एन्जिलाको साथमा सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकार छन् । चलचित्रको छायांकन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो ।
निर्देशक मिलन चाम्सले नेपाली स्रोत-साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरे । निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एन्जिलाको संघर्षको कथा चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।