
बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ ले शनिबार बम्पर व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै चर्चा सुरु भएको यो चलचित्र हेर्न शनिबार नेपालभरका हलमा दर्शकको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिंगल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ ।
दर्शकको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’ को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’ सामाजिक सञ्जालमा भाइरल भएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन् । टिकटक, फेसबुक, युट्युबलगायत प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन् । जसले चलचित्रको लोकप्रियतालाई अझ बढाइरहेको छ । यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ बने थानेश्वरले नै सङ्गीत दिएका छन् ।
यो चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् । चलचित्रले स्वतन्त्र समीक्षकहरूको पनि मन जित्न सफल भएको छ । सोसल मिडियाहरूमा चलचित्रका बारेमा आएका समीक्षाहरू सबै सकारात्मक छन् । उनीहरूले ‘अञ्जिला’ले नेपाली चलचित्र उद्योगमा नयाँ रेकर्ड राख्न सक्ने सम्भावना जताएका छन् । यस चलचित्रको कथा, निर्देशन, अभिनय र गीत-संगीतलाई व्यापक प्रशंसा मिलिरहेको छ ।
चलचित्रको टिम दर्शकको साथ र प्रतिक्रियाबाट उत्साहित देखिएको छ । निर्देशक मिलन चाम्सले आफू सफल भइसकेको प्रतिक्रिया दिए । ‘चलचित्र निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइनँ । शो थप हुनासाथ हाउसफुल भएको देख्दा म दङ्ग छु,’ निर्देशक चाम्सले भने, ‘चलचित्र हेरेर दर्शक भावुक भएका छन् । यो चलचित्रले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मिहिनेत सार्थक भएको अनुभूति भइरहेको छ ।’
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
