
फाइल तस्बिर।
विभागीय टोली एपीएफ क्लबले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले हराएको हो । जितका लागि कर्णालीले दिएको १९० रनको लक्ष्य पछ्याएको एपीएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । एपीएफको यो तेस्रो जित हो । एपीएफका लागि बोहराले ७० रनको योगदान गरे । उनले ६७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । सुमित महर्जनले ५३ बलमा ३५ रन बनाए ।
त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४७ रनको योगदान गरे । उनले ७५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
प्रतियोगिताअन्तर्गत सोमबार सिद्धार्थ रंगशालामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच बिहान ९ बजे खेल हुनेछ । यस्तै, सोमबार नै विभागीय डर्बीमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तिलोत्तमास्थित एक्सट्राटेक ओभर मैदानमा एपीएफ र आर्मीबीच खेल हुनेछ ।