काठमाडौं, चैत ३ :

गत बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ ।

निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्टअनुसार यो चलचित्रले बिहीबार, शुक्रबार र शनिबार गरी दुई करोड सात लाख रुपैयाँको व्यापार गरेको हो ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । रिलिजको पहिलो दिनदेखि नै यस चलचित्रले उल्लेख्य रूपमा दर्शकको साथ पाउँदै आएको छ ।

रिलिजको दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो सुरु भए पनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल भएका थिए भने शुक्रबार पनि चलचित्रलाई दर्शकको राम्रो साथ प्राप्त भएको थियो ।

पहिलो शनिबार देशभरका सम्पूर्ण शो हाउसफुल भई नयाँ शोहरूसमेत थपिएको थियो । थपिएका शोहरुसमेत तुरुन्तै हाउसफुल भइरहेको निर्देशकले बताएका थिए ।

चलचित्र ‘अञ्जिला’ले आइतबार पनि राम्रो व्यापार गर्न सफल भएको वितरक करण श्रेष्ठले बताए । बिहानीका शोहरुमा केही कम दर्शक देखिए पनि दिउँसो र साँझका प्रायः शो हाउसफुल रहेको श्रेष्ठले बताए । आइतबार पनि चलचित्र युनिट दर्शकलाई भेट्न हलहलमा पुगिरहेको छ ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।

चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ ।

दर्शकको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन् ।

टिकटक, फेसबुक, युट्युबलगायत प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन् । जसले चलचित्रको लोकप्रियतालाई अझ बढाइरहेको छ । यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ बने थानेश्वरले नै सङ्गीत दिएका छन् ।