
नेपाल- चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।
सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।
यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान- प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ ।
पोखरा- छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्ने बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुऱ्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।
छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा- छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि जानेछ ।
नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ ।
बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकार भएकाहरूप्रति आभार व्यक्त गरेको छ ।