गोरखा, चैत ४ :

भीमसेन थापा गाउँपालिका- ६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको वडा कार्यालय भवन पुनर्निर्माण भएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।

गाउँपालिकाद्वारा विनियोजित ८८ लाख ६२ हजारको लागतमा भवन पुनर्निर्माण गरिएको उनले बताए । नवनिर्मित भवनमा छवटा कोठा र दुईवटा शौचालय रहेको र अबदेखि नागरिकलाई सेवा प्रवाहमा थप सहज हुने उनले बताए ।

आफ्नै भवन नहुँदा यसअघि स्थानीय महिला समूहको भवनबाट वडाले सेवा दिँदै आएको थियो । वडाको भवन निर्माणका लागि वि.सं २०७९ जेठमा गाउँपालिकाले शिव इन्जिनियरिङ प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।

महिला समूहको भवनमा बर्खाका बेला पानी चुहिने समस्याले कागजपत्र जोगाउन वडालाई समस्या हुँदै आएको थियो ।