बन्दीपुर, चैत ४ :

तनहुँ आँबुखैरेनी गाउँपालिका- ३ की २५ वर्षीया सरिश्मा गुरुङले वि.सं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् ।

फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा- सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छिन् । हाल उनले मासिक दुई लाख आम्दानी लिने गरेको बताइन् ।
   
गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ- नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख बचत हुने उनको भनाइ छ ।

पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेको गुरुङले बताइन् । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।