
भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको सोमबारको इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरे।
झाले गत माघ २ गते थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए। उनलाई भुटानी शरणार्थी बनाएर अमेरिकी पठाउने प्रकरणमा ठगीको आरोप लागेको छ।
गत असार १३ गते प्रहरीले झालाई पक्राउ गरेको थियो र उनलाई चार कसुरमा मुद्दा दायर गरेको थियो। झा र उनका अन्य साथिहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ।
यस मुद्दामा झासहित अन्य ८ जना प्रतिवादीहरू पनि थुनामा छन् । जसमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे पनि रहेका छन्। यद्यपि, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका केही प्रतिवादीहरू उच्च अदालत र सर्वोच्च अदालतबाट रिहा भइसकेका छन् ।